छोरीको जीवन, सोचको मूल्य र समाजको बेवास्ताका कारण आज बिहानै एउटा समाचारको हेडलाइनले मन चिसो बनायो – छाउगोठमा सुतिरहेकी एक महिलाको मृत्यु । हुन त यो कुनै नौलो घटना होइन हाम्रो समाजका लागि यस्ता घटना दिनहुँ घटिरहने भएकाले ।
झट्ट हेर्दा लाग्यो, सायद यो कुनै दुर्गम हिमाली वा पहाडी जिल्लाको घटना होला भनेर । तर जब विस्तारमा हेरेँ, यो त सुदूरपश्चिम प्रदेशको राजधानी नजिकैको, कञ्चनपुरको हो – जहाँ अस्पताल छ, रेडियो छ, इन्टरनेट छ, तर चेतना छैन ।
जहाँ सडक छ, विद्यालय छ, मोबाइल छ, तर मन–मस्तिष्कमा पुरातन अन्धविश्वासको जरा उस्तै गहिरो छ । अन्तर्राष्ट्रिय संस्थाहरूका कार्यक्रम छन् । तर त्यहाँ चेतनाको उज्यालो छैन।
त्यो खबरले मन थिचियो । लाग्यो, जब शहरमा बस्ने मानिसको सोच यस्तो छ भने, दुर्गम गाउँमा, जहाँ अझै पनि छोरीहरू शिक्षाबाट वञ्चित छन्, स्वास्थ्य सेवाबाट टाढा छन्, तिनको अवस्था कस्तो होला ? विकसित सहरमा त छाउगोठमा ज्यान गुमाउनु पर्छ भन्ने झन् गाउँको के कुरा गर्नु ।
आज पनि हाम्रो समाजमा छोरी जन्मिनु अभिशाप ठानिन्छ। महिनावारी हुँदा अपवित्र भनेर छुट्टै राखिन्छ, छाउगोठ पठाइन्छ । परिवारका सदस्य बाट टाढा राखिन्छ । जबकि महिनावारी त एक जैविक प्रक्रिया हो, प्रकृतिको वरदान हो — जसकै कारण मानव जीवन सम्भव भएको छ। यसलाई अपवित्र ठान्नु अज्ञानताको चरम रूप हो ।
सहरमा बस्ने हामी शिक्षित भनिनेहरूले पनि महिनावारीप्रति यस्तो विभेद गर्ने हो भने गाउँका दिदी–बहिनीको अवस्था झनै सोचनीय हुन्छ। कहिले छोरी भएर जन्मेकी आमाको हत्या हुन्छ, कहिले महिनावारी हुँदा ज्यान जान्छ। आखिर, कति सस्तो छ छोरीको जीवन ?
किन यति धेरै भेदभाव ? के छोरीलाई स्वतन्त्र इच्छा, सपनाहरू पुरा गर्ने अधिकार छैन ? के हामीले समाजले तोकेको नियम मान्दै, मौनतामा जीवन बिताउनुपर्ने हो ? हो, अब समय आएको छ — हामी छोरीहरूले आफैँ आवाज उठाउनु पर्ने, नियम तोड्ने, सोच बदल्ने र समाजको दृष्टिकोण बदल्ने ।
समाज परिवर्तन भाषणले मात्र हुँदैन, व्यवहार परिवर्तनले हुन्छ । चेतनाको बीउ घर–घरमा रोप्नुपर्छ। यसका लागि विद्यालय, मिडिया, समुदाय, सबैले भूमिका खेल्नुपर्छ ।
'हामी छोरीहरू कुनै बोझ होइनौँ, हामी पनि सपना देख्न पाउँछौँ, बाँच्न पाउने अधिकार राख्छौँ ।' सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै नभएर शिक्षित मानिएका कैलाली र कञ्चनपुरमा पनि छाउगोठमा महिलाहरूको ज्यान जानु चिन्ताको विषय बनेको छ ।