काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक करिब एक घण्टा चलेर सकिएको छ ।
मन्त्रिपरिषद् बैठकपछि भने सत्ता गठबन्धनका तीन प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालका शीर्ष नेताहरूबीच विशेष बैठक सुरु भएको छ ।
बालुवाटारमै जारी उक्त बैठकको केन्द्रमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेको घुस प्रकरण रहेको बताइएको छ । उनी नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसदसमेत हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहानै मन्त्री गुप्तालाई बालुवाटार बोलाएर अडियो प्रकरणबारे सोधपुछ गरेका थिए। त्यसपछि मन्त्रिपरिषद् बैठकमा गुप्ता सहभागी भए पनि उनीमाथि कुनै निर्णय नआएको देखिन्छ ।
तर सत्ता गठबन्धनभित्रको छुट्टै छलफलले अबको कदमको संकेत दिन सक्ने अनुमान गरिएको छ। यसैबीच, गुप्ताको राजीनामा वा बर्खास्तीको माग चुलिँदै गएको छ ।