एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई मस्को र सेन्ट पिटर्सबर्ग जस्ता रूसी सहरहरूमा आक्रमण गर्न सक्ने शक्तिशाली हतियार दिन सक्ने संकेत दिएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति यसअघि नरम देखिएका ट्रम्पले शान्तिका लागि तयार नदेखिएपछि रूसविरूद्ध कडा नीति अवलम्बन गर्ने तयारी गरेका हुन् । युद्धविराम गराउन ट्रम्प सुरूवातमा क्रेमलिनप्रति नरम र किभप्रति आक्रामक देखिएका थिए।
तर जति नै नरम भए पनि रूसले विभिन्न बहानामा युद्धविराम प्रस्ताव नमानेपछि ट्रम्पले युक्रेनलाई रूसमाथि हमला गर्न लामो दूरीका हतियार दिने बताएका हुन् ।
फाइनान्सियल टाइम्सका अनुसार, जुलाई ४ मा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच संवाद भएको थियो । जसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसको राजधानीलाई नै लक्ष्य गरेर आक्रमण गर्न सक्छौं कि सक्दैनौं भनेर ट्रम्पले प्रश्न गरेका थिए ।
संवादमा ट्रम्पले 'हतियार पाए मस्को हान्न सक्छौ ?' भनेर सोध्दा जेलेन्स्कीले 'अवश्य सक्छौं' भनेर जवाफ दिएको उल्लेख छ ।
रूस शान्तिको लागि तयार नदेखिएपछि ट्रम्पले कडा रणनीति लिँदै युक्रेनलाई प्रोत्साहन गर्न थालेका हुन् । यद्यपि वाशिंटनले हतियार दिने निर्णय भने अझै भइसकेको छैन ।