काठमाडौं । पेसन पट्टा बनाइदिने नाममा घुस लिएको अभियोगमा राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचलका शाखा अधिकृत धनेश्वर प्रसाई र बिचौलिया सुदर्शन न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दुवैलाई ६÷६ महिनाको कैद र बराबरको १ लाख ५० हजार रुपैयाँ जरिवानासहित घुस बराबरको रकमसमेत असुल उपर गर्ने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ पुस १४ गते अधिकृत प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । उनले अवकाशप्राप्त शिक्षकको पेन्सनपट्टा बनाइदिनका लागि घुस मागेको, सो कार्यमा बिचौलिया न्यौपानेलाई संलग्न गराएको प्रमाणित भएको अदालतको ठहर छ।
अदालतले प्रसाईको कार्यकक्षको दराजबाट घुस रकम बरामद भएको, बिचौलिया न्यौपानेसँगको अडियो/भिडियो प्रमाण र व्यवहारिक मिलेमतो देखिएको पुष्टि गरेको हो। श्रव्य-दृश्य प्रमाणले उनीहरूको संलग्नता स्पष्ट देखाएको भन्दै फैसला सुनाइएको हो।
धनेश्वर प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष समेत रहेको खुलेको छ ।