काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्मार्ण कार्य सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको पनि बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम धमाधम भइरहेको छ।
तर, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको छ।
प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड र पुरस्कारको व्यवस्था गरेको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्–‘कीर्तिपुर क्रिकेट रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ। तर, अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ। सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं।’
सम्झौताअनुसार समयमै निर्माण सम्पन्न गर्न नसके योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जना तिर्नु पर्ने व्यवस्था छ । हर्जना झण्डै दैनिक २ लाख बढी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । ठेकेदार कम्पनीले मंगलबारदेखि उनीहरू दैनिक हर्जना तिरेर काम गरिरहका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस अगाडि म्याद थप गर्दा पनि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिको काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका थिए।
मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए ।
प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।
निर्माण कम्पनीले मंगलबारदेखि नै दैनिक हर्जना तिरेर काम गरिरहेको छ ।
यसरी हर्जना तिरेर बढीमा २ सय दिनसम्म अर्थात आयोजनको कुल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानूनी व्यवस्था रहेको छ ।
सो अवधिमाा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ । तर, निर्माण कम्पनीले १ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ । ४ हजार कुर्सी फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।
प्यारापिटतर्फ वित्तिय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तिय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।