काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएकका छन् ।
ललितपुरको बालकुमारी चौर ,सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत श्रम र उत्पादनमा वाईसीएल अभियानको औपचारिक उद्घाटन गर्दै उनले युवाहरुलाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान समेत गरे ।
संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै उनले भने–‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनुपर्ने हुन्छ।’
कार्यक्रममा ईसीएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ। सो क्रममा अध्यक्ष प्रचण्डले युवालाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अग्रपंक्तिमा उभिन आग्रह गरेका हुन्।
अध्यक्ष प्रचण्डले वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत् राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको ‘उत्पादन ब्रिगेड’ को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसके पछिको पहिलो पदाधिकारी बैठकमा,उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाईसीएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन दिएको थिएँ। त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि वाईसीएललाई धन्यवाद दिन चाहन्छु।’
कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।