काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबैभन्दा ठूलो कमजोरी मानिसहरूलाई सजिलै विश्वास गर्नु भएको बताएका छन् ।
एक विशेष अन्तर्वार्तामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई ‘बुद्धि कम तर इमान बढी भएको’ व्यक्ति भनेरसमेत चित्रण गरे ।
“म मान्छेले भनेपछि विश्वास गर्छु र कहिलेकाहीँ धोका खान्छु,” प्रधानमन्त्री ओलीले भने । उनले आफूलाई कुनै विशिष्ट या असाधारण खेलाडी नठान्ने स्पष्ट पार्दै थपे, “म हरेक गोल मिस नगरी पोस्टमा हान्ने खेलाडी होइन, मेरा थुप्रै गोलहरू मिस हुन्छन्।”
ओलीले आफू सधैं राष्ट्रिय हितका लागि इमानदारीपूर्वक काम गरिरहेको दाबी गर्दै भने, “मैले देशप्रति इमानदार रहनुपर्छ भन्ने मान्यता राखेको छु र त्यस मूल्यमा सधैँ अडिग रहेको छु।”
विश्वको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै उनले भौतिक प्रगति हुँदाहुँदै पनि स्वार्थ, अहंकार र हिंसात्मक प्रवृत्तिले मानवता पीडित भएको बताए।