काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द र चुनाव चिन्ह हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
आफूलाई सामाजिक अभियन्ताको रुपमा चिनाउँदै आएका युवराज सफलले राष्ट्रिय पहिचान र धार्मिक आस्था भएको घण्टीलाई कुनै पनि रुपमा चुनाव चिन्ह बनाउन नमिल्ने र स्वतन्त्र शब्दले उम्मेदवारहरूलाई समेत असर पार्ने भएकाले संशोधनको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।
सफलले ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन् । यस्तै, निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ।
‘घण्टी’ नेपालका बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकाले यसलाई राजनीतिक दलको चुनाव चिह्न बनाउनु धार्मिक मान्यतामाथिको प्रहार भएको सफलको जिकिर छ।