अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख फेरिएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बिहीबार मात्रै एक वर्ष कार्यकाल पूरा गरेका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेका थिए ।
जसमा अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी पनि परेका छन् । उनको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएको हो । उनले गत असोज महिनामा जिल्ला प्रहरी कार्यालय अछामको जिम्मेवारी सम्हालेका थिए ।
अब उनको स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल आउने भएका छन् ।
सुरुवा भएसँगै डीएसपी भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्नो प्रगति विवरण सार्वजनिक गर्नेछन् । उनले अछाम जिल्लामा घटेका विभिन्न घटनाको सफल अनुसन्धान गरेका छन् ।
गत माघ महिनामा जिल्लाको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्का हत्या प्रकरणको पनि सफल अनुसन्धान गरिएको थियो । साथै उनले जिल्लाको शान्ति सुरक्षामा पनि महत्वपूर्ण भूमिका निभाएका थिए ।