काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले राजधानीका दुई स्थानमा गरिएको अपरेशनमा ठुलो मात्रामा औषधिजन्य लागुऔषध बरामद गर्दै तीनजना कारोबारीलाई पक्राउ गरेको छ ।
ब्यूरोले बालाजुस्थित गंगाहल, शान्ति मार्गस्थित एक कोठामा ३५ हजार ५९० ट्रामाडोल क्याप्सुल र १२ हजार ५ सय किलोग्रामसहित मोरङ बेलबारीका ३२ वर्षीय निकु राईलाई पक्राउ गरेको हो।
त्यसैगरी, असार १३ गते, ब्यूरोले बल्खुस्थित एक डेराबाट थप कारबाही गर्दै तीन प्रकारका एम्पुल गरी ३१ हजार १०१ एम्पुल लागू औषधसहित कुंगा तामाङ र पदमबहादुर महतलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट १० हजार ३६७ एम्पुल बुप्रेनोर्फिन, १० हजार ३६७ एम्पुल डाईजेपाम, १० हजार ३६७ एम्पुल फेनार्गन गरी जम्मा ३१ हजार १०१ एम्पुल बरामद गरिएको छ ।
विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा डेराकोठाभन्दा छुट्टै कोठा भाडामा लिएर लागू औषध भण्डारण गर्दै बिक्री वितरण गरिरहेको पाइएको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार थप अनुसन्धान थालिएको छ ।