काठमाडौं । शिक्षा ऐनको बहानामा शैक्षिक हड्तालको आह्वान गरेको नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले काठमाडौंको नयाँ बसपार्कस्थित तक्षसिला स्कुलको गाडीमा तोडफोड गरेका छन् ।
स्कुल बन्द गराउँदै हिँडेको नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बन्दको अवज्ञा गरेको भन्दै तक्षसिलाको स्कुल बस मनमैजुमा तोडफोड गरेका हुन् ।
बसमा सामान्य क्षति भएको छ भने बन्दकर्ताहरुले बस केहीबेर नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल मोदराज पाण्डेले भने–‘बन्दको बेला स्कुल बस चलाएको भन्दै बसमा तोडफोड गरेको र केहीबेर होल्ड गरेको भनेर ड्राइभरले फोन गर्नुभएको थियो । बस अझै आइपुगेको छैन ।’
अखिल (क्रान्तिकारी)ले आज शैक्षिक हड्तालको घोषणा गरेका थियो । उनीहरुले शैक्षिक हड्तालको अवज्ञा गर्दै खुलेका विद्यालयहरु पनि बन्द गराउँदै हिँडेका छन् ।
क्रान्तिकारीका विद्यार्थीहरुले राजधानीको रत्नराज्य मावि लगायत पठनपाठन सुरु भएको विद्यालयहरु बन्द गर्न लगाएका छन् ।