काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन् ।
शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सरकार र गृह प्रशासन नागरिकको जिउधनको सुरक्षामा निरन्तर क्रियाशील रहेको बताए ।
गृहमन्त्री लेखकले अपराध न्यूनीकरण, नियन्त्रण तथा अनुसन्धानमा गृह मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै भने, “हामी मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्न, नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न, र अपराध भइहाले त्यसमा गहिरो अनुसन्धान गरी अपराधीलाई कानून अनुसार कारबाही गर्न काम गरिरहेका छौं।”
उनका अनुसार पछिल्लो एक वर्षको तुलनामा शान्ति सुरक्षा अवस्था सुधारोन्मुख छ। उनले भने, “एक वर्ष अघिको अवस्थासँग तुलना गर्दा अहिलेको अवस्था राम्रो छ। विशेषगरी पुराना मुद्दामा फरार रहेका अपराधीहरू पनि हालै पक्राउ परेका छन्, जुन गृह प्रशासनको सक्रियताको परिणाम हो।”
गृहमन्त्रीले सुरक्षा निकायहरू अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सफल भइरहेको उल्लेख गर्दै समन्वयमा आधारित अनुसन्धानलाई गृह मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिए।