अछाम । जिल्ला प्रहरी कार्यालय अछामले आर्थिक वर्ष २०८१/०८२ मा अपराध नियन्त्रण, अनुसन्धान र सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको वार्षिक विवरणअनुसार अधिकांश अपराधसम्बन्धी मुद्दाहरूमा प्रभावकारी अनुसन्धान र फर्छ्यौट भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अछाममा १२३ वटा अपराध दर्ता भएका थिए, जसमा ७६ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् ।
यस क्रममा कूल १६३ जना अभियुक्तमध्ये १४६ जना (८९.५७ प्रतिशत) पक्राउ परेका छन् । तीमध्ये ३५ जना पुर्पक्षका लागि कारागार चलान, ६२ जना धरौटीमा रिहा र १७ जना साधारण तारेखमा छुटेका छन् ।
यसैगरी यस वर्ष अछाममा दुईवटा कर्तव्य ज्यानसम्बन्धी जघन्य घटना भएका थिए । ढकारी गाउँपालिका-८ की दुई किशोरीको हत्या तथा रामारोशन गाउँपालिकामा पत्नीको हत्या घटनाको सफल अनुसन्धान गरी अभियुक्तलाई कानूनी दायरामा ल्याइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध दर्ता भएका ३१ मुद्दा सबै फर्छ्यौट भएको डीएसपी भण्डारीले जानकारी दिए । घरेलु हिंसा अन्तर्गत मापसे, पारिवारिक तथा सामाजिक झैँ-झगडासमेत गरी ५३ घटना दर्ता भएका थिए, जसमा ४६ वटा मिलापत्र भई सातवटा मुद्दा सम्बन्धित निकायमा पठाइएको छ ।
यस्तै वर्षभर अछाममा ४५ वटा सवारी दुर्घटना भएका थिए, जसमा ४ जनाको मृत्यु र ७४ जना घाइते भएका छन् । सवारी सुरक्षाका लागि प्रहरीले ४९२ सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १६ हजार ९८६ सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्याएको छ । सार्वजनिक तथ्याङ्क अनुसार लागुऔषध सम्बन्धी ९ मुद्दा दर्ता भई सबै फर्छ्यौट भएका छन् ।
११ जना अभियुक्त (१० पुरुष र १ महिला) पक्राउ परेका छन् । प्रहरीले गाँजा, चरेस, खैरो हिरोइन तथा ट्रामाडोलसहितका पदार्थ समेत बरामद गरेको छ ।
साइबर अपराध अन्तर्गत रेडियो कर्मचारीलाई अश्लील गाली गर्ने अभियुक्तविरुद्ध मुद्दा दर्ता गरी कारबाही गरिएको छ। त्यस्तै १३ वटा आर्थिक अपराधमध्ये १२ वटा मुद्दा फर्छ्यौट भएका छन् । यसैगरी गत वर्षमा ट्राफिक जरिवानाबाट २० लाख ८६ हजार ५०० रुपैयाँ राजश्व उठाइएको छ ।
गत वर्षका २२ पेन्डिङ मुद्दामध्ये केवल २ वटा (९.०९ प्रतिशत) मात्र फर्छ्यौट भएका छन् । फरार रहेका १२ अभियुक्तमध्ये २ जना मात्रै पक्राउ परेका छन् ।
हालसम्म १११ जना फरार प्रतिवादीमध्ये १७ जना मात्रै पक्राउ, ७ वर्ष ८ महिना १४ दिन कैद र १५ लाखभन्दा बढी जरिवाना संकलन भएको अछाम प्रहरीले जनाएको छ ।
साथै गत वर्षको असारमा महिनामा जिल्ला प्रहरी कार्यालय अछामको जिम्मेवारी सम्हालेका डीएसपी भण्डारीको बिहीबार सरुवा भइसकेको छ । उनको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएको हो ।
आइतबारको समिक्षा कार्यक्रममा उनले आफ्नो प्रगति विवरण समेत सार्वजनिक गरे । डीएसपी भण्डारीले जिल्लामा घटेका जघन्यसहित विभिन्न घटनाको सफल अनुसन्धान गरेका थिए ।