Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दैलेखमा अपराध नियन्त्रण र जनचेतनामा उल्लेखनीय सुधार, आत्महत्याको घटनामा चिन्ता

दैलेखमा अपराध नियन्त्रण र जनचेतनामा उल्लेखनीय सुधार, आत्महत्याको घटनामा चिन्ता

शनिवार , श्रावण ३, २०८२

दैलेख । दैलेखमा अपराध नियन्त्रण, अनुसन्धान र जनचेतना अभिवृद्धिमा उल्लेखनीय उपलब्धिहरू हासिल भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

साउन २ गते आयोजित पत्रकारसँगको छलफल तथा अन्तरक्रियामा दैलेख प्रहरीले आफ्नो वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।

जसमा आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मका मुख्य तथ्यांकहरू सार्वजनिक गरिएको छ । सार्वजनिक विवरणअनुसार प्रहरीको सक्रियताले धेरैजसो गम्भीर अपराधका घटनामा अपराधी पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर विभिन्न प्रकृतिका २१८ आपराधिक मुद्दा दर्ता भएका थिए ।

तीमध्ये कर्तव्यज्यान, लागुऔषध, जबरजस्ती करणी, ठगी, हातहतियार, आत्महत्या, अपहरणलगायतका मुद्दामा प्रहरीको सक्रिय अनुसन्धानबाट अधिकांश अभियुक्त पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा मात्रै १२ अभियुक्त पक्राउ परेका छन् भने लागुऔषध मुद्दा ११ पुगेकोमा १९ जना पक्राउ परेका छन् ।

जबरजस्ती करणीसम्बन्धी २५ मुद्दा दर्ता भई १८ जना पक्राउ परेका छन् । यस्तै, आत्महत्याका घटनामा भने घट्दो दर देखिएको भए पनि आत्महत्या दर अझै पनि चिन्ताजनक रूपमा रहेको डीएसपी बरालले बताए ।

२०७९ देखि २०८२ सम्मको तथ्याङ्कअनुसार आत्महत्यामा दलित समुदायका व्यक्तिहरू, महिलाहरू र १६–२५ वर्ष उमेर समूह बढी प्रभावित देखिन्छन्। गत वर्ष मात्रै ४७ जनाले आत्महत्या गरेका छन्, जसमा २६ महिला छन् ।

लागुऔषधमा युवा जोखिममा, नियन्त्रणमा डीएसपीको सक्रियता

२०७९/०८० मा ६ जना, ०८०/०८१ मा ६ जना र ०८१/०८२ मा १९ जना लागुऔषध मुद्दामा पक्राउ परेका छन् । ४०० ग्राम ब्राउन सुगर, २१८ ग्राम चरेस, २४० ग्राम गाँजा, ट्रामाडोल र नाइट्रोपाजम जस्ता ८०० भन्दा बढी नशालु ट्याब्लेट बरामद गरिएको छ ।

यो तथ्याङ्क अनुसार पछिल्लो आर्थिक वर्षमा लागुऔषध मुद्दामा पक्राउ पर्नेको संख्या बढेको छ । लागुऔषधमा १८ देखि ३० वर्ष उमेर समूहका युवकहरू बढी संलग्न देखिएका छन् ।

युवा पुस्तामा लागुऔषध दुर्व्यसन बढेपछि डीएसपी बरालको सक्रियतामा जिल्लामा सप्ताहव्यापी लागुऔषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अभियान नै चलाइएको छ ।

उनले जिल्लाको कमाण्ड सम्हाले यता विभिन्न स्थानमा लागुऔषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धी सचेतनामुलक प्रशिक्षणसहित पर्चा पम्पलेट वितरण गरिसकेका छन् । अहिले जिल्लामा अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गर्ने काम भइरहेको छ ।

जनचेतनामूलक कार्यक्रम प्रभावकारी

समुदाय–प्रहरी साझेदारी अन्तर्गत ५६१ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी २३ हजार १०३ नागरिकलाई लाभान्वित गराइएको छ । बालविवाह न्यूनीकरणमा समेत प्रहरीको भूमिका उल्लेखनीय देखिएको छ ।

२०८१/८२ मा मात्र ४६ वटा बालविवाह रोकिएको प्रहरी तथ्याङ्कले देखाउँछ । साथै बजार क्षेत्र र जोखिमयुक्त स्थानहरूमा २४ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण

हराएका ९८ महिला, २८ बालक र ४९ बालिकामध्ये अधिकांशलाई फेला पारेर सुरक्षित रुपमा परिवारमा पुनःस्थापना गरिएको छ। यसैगरि अलपत्र अवस्थामा रहेका २४ मध्ये १४ महिला र १० बालक उद्धार गरिएको छ।

सवारी दुर्घटनामा बढोत्तरी

सवारी दुर्घटनाका घटनामा भने बढोत्तरी देखिएको छ । गत आर्थिक वर्षमा ७३ वटा सवारी दुर्घटनामा १७५ जना घाइते र १४ जनाको मृत्यु भएको छ । ट्राफिक कारवाहीमार्फत ३० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको डीएसपी बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077