काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको दाबी गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नवीकरण भइसकेको बताएको उल्लेख गरे ।
पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताएको पाण्डेले सुनाए ।
‘दुई वर्ष अघि नै पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरेको छु भन्नुभएको थियो । एक वर्ष अघि नै सचिवालय बैठकमा महासचिवले पार्टी बैठकमा उहाँले नवीकरण गर्नुभएको भन्नुभएको थियो,’ पाण्डेले भने, ‘अध्यक्षले पनि त्यसमा सहमति जनाउनुभएको थियो । नवीकरण विषयमा पहिले नै प्रश्न उठेन त्यसैले अहिले बाहिर विवाद गर्नुभन्दा भित्रै बसेर सहमति गर्नुपर्छ ।’