Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

‘डार्क फाइल’ मा फेक अडियो उपलब्ध गराउने तिमिल्सिना पक्राउ, प्रहरीलाई नै झुक्याएर पुगेका थिए कार्यालय

‘डार्क फाइल’ मा फेक अडियो उपलब्ध गराउने तिमिल्सिना पक्राउ, प्रहरीलाई नै झुक्याएर पुगेका थिए कार्यालय

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । सिधाकुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको ‘डार्क फाइल’ रिपोर्टमा फेक अडियो उपलब्ध गराउने राजकुमार तिमिल्सिना पक्राउ परेका छन्।

तिमिल्सिनालाई इलाका प्रहरी कार्यालय इटहरीले आइतबार साँझ कार्यालय परिसरबाटै पक्राउ गरेको हो।

तिमिल्सिना इलाका प्रहरी कार्यालय इटहरीमा उनकी श्रीमतीको एउटा मुद्दाको बारेमा हुन लागेको छलफलका लागि पुगेका थिए।

आफ्नो वास्तविक नाम लुकाएर अर्कै नाम बताउँलै प्रहरी कार्यालयमै पुगेका तिमिल्सिनामाथि प्रहरीले सोधपुछ गर्दा उनी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी भने–‘तिमिल्सिनामाथि शंका लागेपछि थप सोधपुछ गर्दा उनी ‘डार्क फाइल’ रिपोर्टका फरार प्रतिवादी रहेको पुष्टि भयो । त्यसैले उहाँलाई पक्राउ गरेका हौं ।’

सर्वोच्च अदालतका न्यायाधीश, कानून व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा तिमिल्सिनालाई सर्वोच्च अदालतले गत असोज १३ गते ६ महिनाको कैद सजायको फैसला गरेको थियो।

‘सिधाकुरा डटकम’ ले ‘डार्क फाइल’का नाममा प्रसारण गरेको अडियो सामग्री ‘फेक’ भएको सर्वोच्च अदालतले ठहर गरेको थियो।

सर्वोच्चको ९ सदस्यीय विस्तारित पूर्ण इजलासले अदालतको अवहेलना भएको ठहर गर्दै उत्पादक तथा प्रसारकहरूलाई कैद सजाय सुनाएको थियो।

प्रयोगशाला परीक्षणबाट पनि ‘फेक’ प्रमाणित भएको अडियो बनाउने तिमिल्सिनालाई ६ महिना कैद, र उक्त अडियो प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३/३ महिनाको कैद सजाय सुनाइएको थियो।

उक्त अडियो प्रशारण भएको ‘सिधाकुरा’ अनलाइनलाई भने  ५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसमेतको विस्तारित पूर्ण इजलासको फैसलाअनुसार ढुंगाना र कँडेललाई केन्द्रीय कारागार चलान गरिएको थियो।

काल्पनिक सामग्री उत्पादन गरी प्रसारण गरेको कसुरमा तिमिल्सिनालाई ‘न्याय प्रशासन ऐन, २०७३’ को दफा १७ को उपदफा (४) बमोजिम ६ महिनाको कैद हुने फैसला भएलगत्तै तिमिल्सिना फरार थिए।

प्रहरीका अनुसार तिमिल्सिनालाई आजै काठमाडौं ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077