कैलाली । कैलाली कारागारमा बैंकिङ कसुरमा थुनिएका एक व्यवसायीको रहस्यमय मृत्यु भएको घटनामा अनुसन्धानको घेरामा रहेका प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
कैलाली प्रहरीका अनुसार ६ दिनअघि जिल्ला अदालत कैलालीले सई नाथलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई थुनामा राखिएको हो ।
मृतक २८ वर्षीय हरिशसिंह पाली डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का व्यवसायी थिए । उनलाई बैंकिङ कसुरको मुद्दामा असार १ गते कैलाली कारागार चलान गरिएको थियो । तर, त्यसको दोस्रो दिन साउन २ गते राति एक्कासि बिरामी परेका पालीको राति सवा १२ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
बैंकिङ कसुरमा दोषी ठहर पालीमाथि कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तर, उनको पक्राउ प्रक्रिया र कारागार पठाउने क्रममा लापरबाही र अमानवीय व्यवहार भएको आरोप लागेको छ ।
पालीलाई जेठ २९ गते डडेल्धुराबाट पक्राउ गरिए पनि सई नाथकै योजनामा जानाजान ढिला गर्दै जेठ ३० गते मात्र कैलाली ल्याइएको आरोप छ । शनिबार परेको कारण अदालतमा पेस पनि असार १ गते मात्रै गरिएको थियो ।
पालीका आफन्तले नाथले पटक–पटक फोन गरी रकम माग्ने गरेको दाबी गर्दै असार २ गते मात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको प्रमाण पेश गरेका छन् ।
पालीको मृत्युलगत्तै उनको शरीरमा चोटपटक र निलडाम देखिएको भन्दै आफन्तले कारागारभित्र कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन् ।
यद्यपि, प्रहरी प्रशासन भने पोष्टमार्टम रिपोर्ट नआएसम्म ठोस निष्कर्षमा पुग्न सकिने अवस्था नरहेको बताउँदै आएको छ । अहिलेसम्म पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छैन ।