काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न नेता तथा कार्यकर्ताहरूलाई चेतावनी दिएका छन्।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बैठकमा सुनाए ।
च्यासलमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले भने–‘मैले विद्याजीलाई हिजो भेटेँ, बालुवाटार बोलाएको, पार्टी कार्यालय देखेको छैन भन्नुभयो, के ठूलो भयो ? पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा किन ठूलो कुरा गर्नुपर्छ ? कोही उहाँ (भण्डारी) को प्रवक्ता बन्नुभएको छ, किन पर्यो त्यो, मैले सुझाव दिएको छु, उहाँले के गर्नुहुन्छ भनिसक्नु भएको छैन।’
उनले भेटवार्तामा पोलिट्ब्युरोको निर्णयका बारेमा जानकारी गराएको पनि बताए।
अध्यक्ष ओलीले भने–‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ। उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनु भएको छ। उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ ।’
भेटवार्तासम्बन्धी प्रस्ताव भण्डारीबाटै आएको पनि ओलीले बताए। ओलीले चेतावनी दिँदै भने–‘भण्डारीले बालुवाटार जान मानिनन् भनेर गलत प्रचार गर्नु पनि बेठिक हो। उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरूरी छैन। हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ। अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ ।’
साथै उनले पार्टी सदस्यता नवीकरणको विषय ठूलो नभए पनि अहिलेसम्म त्यसको अनुमति पार्टीले नदिएको बताएका थिए।
पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला ब्यहोरेको बताए ।
ओलीले भने–‘हाम्रो आन्दोलनले सधैं हमला बेहोरेको छ, विरोधीहरूले हाम्रो समर्थन गर्दैनन्, झुट र बेइमान छन् । स्तरहीन छन् । अफवाह फैलाउँछन्, हाम्रो पार्टीले इतिहासदेखी हमला झेलेका हो । ८ साल देखि १३ साल सम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लागेको थियो । मतभेदहरू हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने थिएन ।’
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीमा गालीगलौजको प्रवृत्तिलाई मोहनबिक्रम सिंहले सैद्धान्तिकरण गरेको बताए । त्यससलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तार गरेको ओलीको आरोप थियो ।
ओलीले भने–‘गाली गलौजको प्रवृत्तिलाई मोहनविक्रमले सैद्धान्तिकरण गरे, पछिल्लो समय प्रचण्ड प्रवृत्ति आयो, राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्छ ।’
अध्यक्ष ओलीले पार्टीले मिसन ०८४ भनेकाले त्यसका लागि सबै एकजुट हुनपर्ने पनि बताए । बहुमत नभइ काम गर्न नसकिने भन्दै उनले बहुमत ल्याउन सबै एकजुट हुन पर्ने धारणा राखे ।
ओलीले भने–‘हामीले मिसन ८४ भनेका छौँ , बहुमत नभै काम गर्न सकिन्न, एकमना एकता नभै हाम्रो नीति लागु गर्न सकिन्न । अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो फेरि अरू तयारीहरू भैरहेका छन् । कतै हामी आफ्नै संकल्पमा नरहेको जस्तो देखिन्छ ।’