Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विवाहको प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको हत्या, आत्महत्या जस्तो देखाउन सलले झुन्ड्याए

विवाहको प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको हत्या, आत्महत्या जस्तो देखाउन सलले झुन्ड्याए

सोमवार , श्रावण ५, २०८२

काभ्रेपलाञ्चोक । दुई वर्ष लामो प्रेम सम्बन्धले विवाहको रूप लिन नपाउँदै हिंसात्मक मोड लिँदा काभ्रेपलाञ्चोकमा एक युवतीले ज्यान गुमाएकी छन् ।

आफ्नै प्रेमीको दाउरा प्रहारबाट ३३ वर्षीया शर्मिला उप्रेतीको ज्यान गएको छ भने हत्या अभियोगमा प्रेमी सन्तोष सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार रामेछापको मन्थली गाउँपालिका–१३ घर भई हाल काभ्रेको बनेपामा बस्दै आएका ३७ वर्षीय सुनारले उप्रेतीको निर्ममतापूर्वक हत्या गरेका हुन् । सुनारले प्रेमिकाले आफूबाट टाढिने संकेत देखाएको भन्दै योजनाबद्ध हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत शनिबार बनेपा नगरपालिका–१३ भगवान थुम्कीस्थित सामुदायिक वनको भिरालो क्षेत्रमा चिलाउनेको फेदमा महिलाको शव भेटिएपछि घटनाको अनुसन्धान सुरु भएको थियो । शव भेटिएलगत्तै इलाका प्रहरी कार्यालय बनेपाको नेतृत्वमा प्रहरी टोली र धुलिखेल अस्पतालका फरेन्सिक विशेषज्ञ टोलीले घटनास्थलको अध्ययन गरेका थिए ।

मृतकको पहिचान उनका बुवाले गरेका थिए । उनी मूलतः भुम्लु गाउँपालिका–१ डाँडाखर्ककी हुन् तर हाल बनेपा–९, नयाँ बस्तीमा बस्दै आएकी थिइन्।

घटनापछि फरार रहेका सन्तोष सुनार बनेपा–१० इँटाभट्टा क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् । प्रारम्भिक बयानमा उनले प्रेम सम्बन्धमा रही आएका बेला विवाह गर्न गरिएको आग्रहलाई टार्दै गर्दा उप्रेतीले अर्कैसँग सम्बन्ध गाँसेको आशंका गरेर क्रुद्ध भई दाउराले प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

साथै, हत्या गरेपछि घटना आत्महत्या जस्तो देखाउन उनले मृतककै सल प्रयोग गरी शव झुन्ड्याएकोसमेत बयान दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या आरोपमा सुनारलाई नियन्त्रणमा लिएर जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चार दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077