धनगढी । सेवाग्राहीसँग लाखौं रुपैयाँ घुस लिएको आरोपमा कैलाली डिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई सोमबार डिभिजन वन कार्यालय, धनगढीमै सेवाग्राहीबाट लिएको रु. ७ लाख ३१ हजार घुससहित नियन्त्रणमा लिएको हो ।
सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै आएको अख्तियारको टोलीले यादवलाई सेवाग्राहीसँग ‘घाटगद्दी काठ’ को बिमर्का तथा छोडपूर्जी उपलब्ध गराइदिने भन्दै रकम मागेको प्रमाणसहित पक्राउ गरेको जनाएको छ ।
घुस मागिएको काठ कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वन अन्तर्गतको रहेको अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
यादवले सेवाग्राहीसँग पूर्वसहमति अनुसार सो घुस रकम लिइसकेको अवस्थामा पक्राउ परेपछि अख्तियारको टोलीले उनलाई कार्यालयमै नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरले यादवविरुद्ध थप अनुसन्धान सुरु गरेको छ ।