काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सिद्धान्त र आदर्श अन्य सबै प्रतिस्पर्धी पार्टीभन्दा उत्कृष्ट भएको दाबी गरेका छन् ।
सोमबार पार्टी कार्यालय, सानेपामा आयोजित ‘पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरूलाई सम्मान पत्र वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् । उनले ती विचारहरूलाई अझ प्रभावकारी रूपमा जनतासम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याए ।
सभापति देउवाले भने, ‘अन्य प्रतिस्पर्धी पार्टीहरुभन्दा हाम्रो सबभन्दा राम्रो सिद्धान्त छ, हाम्रो आदर्श राम्रो छ। तर त्यसलाई हामीले मिडिया लगायत सम्पूर्ण देशवासीलाई व्यापक रूपमा बुझाउनु छ।’
उनले नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक समाजवादमा आधारित विचार बोकेको पार्टी भएको उल्लेख गर्दै कांग्रेसको विचार, शिक्षा र साहित्यलाई पुस्तकालयमार्फत आम नागरिकसम्म पुर्याउन सकिए जनआकर्षण स्वतः बढ्ने विश्वास व्यक्त गरे ।
कांग्रेसको विचार र सिद्धान्त जनतामा पु¥याउने माध्यमका रूपमा पुस्तकालयहरूलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सभापति देउवाले वर्तमान संविधानअनुसारको समानुपातिक र समावेशी चुनाव प्रणालीमा पार्टीले बहुमत ल्याउन चाहेको खण्डमा सबै जातजाति, जनजाति, आदिवासी तथा समुदायहरूको समर्थन अपरिहार्य रहेको बताए।