काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए।
सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।
उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो। पक्राउ परेका दुई जना प्रेमी–प्रेमिका भएको खुलेको पनि प्रहरीले जनाएको छ । पुरूष थान डेढ महिना अघि काठमाडौं आएका थिए भने उनकी प्रेमिका केही दिन अघि मात्रै काठमाडौं आएको प्रहरीले जनाएको छ।
सुन बरामद भएपछि प्रहरीले मंगलबार बिहान परीक्षण समेत गरेको थियो। सुन पुष्टि समेत भइसकेको प्रहरीले जनाएको छ।
थप अनुसन्धान गर्न उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।