बारा । बाराको पचरौता नगरपालिका–७ स्थित राम मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।
स्थानीयले मन्दिर परिसरमा बोरा भित्र शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
सुरक्षाको दृष्टिले संवेदनशील मानिने धार्मिकस्थलमा वस्तु भेटिएको सूचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली तत्काल घटनास्थल पुगेको थियो ।
सेनाले बोरा खोली परीक्षण गर्दा भित्र प्रेसर कुकर रहेको पुष्टि भएको हो । कुकरभित्र विस्फोटक पदार्थ थियो वा थिएन भन्ने विषयमा भने विस्तृत परीक्षणपछि मात्रै यकिन हुने सेनाले जनाएको छ ।