Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मधेशमा तस्करी र घुस असुली बढ्यो, डीआईजीले नै खटाउँछन् घुमुवा !

मधेशमा तस्करी र घुस असुली बढ्यो, डीआईजीले नै खटाउँछन् घुमुवा !

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले मातहतका जिल्लाका सिभिल टोलीसँग समन्वय गर्नका लागि प्रहरी नायब निरीक्षक (सई) कुवेर खतिवडाको टोली परिचालन गरेका छन् ।

लहानको डीएसपी हुँदै सिरहाको एसपी हुँदै मधेश प्रदेशको डीआईजी भएपछि पनि चतुर्वेदीका विश्वासपात्र बनेका सई खतिवडाले नै ८ वटै जिल्लाका सिभिल टोली (घुमुवा) हरुको खटनपटन र दररेट असुलीको काम गर्ने जिम्मा पाएका छन् ।

स्रोतका अनुसार हरेक जिल्लामा घुमुवासँग डीआईजीको तर्फबाट खतिवडाले उठाउने जिम्मा पाएका छन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका घुमुवा टोलीसँग सई खतिवडाले डीआईजीको तर्फबाट डिल गर्ने गरेका छन् ।

सर्लाहीमा असई रमप्रवेश यादव, बाराका सिभिल टोली इन्चार्ज इन्स्पेक्टर खेम नेपाल, महोत्तरीमा हवलदार धर्मेन्द्र यादव र राजेश यादव, घनुषामा डीएसपी बरुण सिंहले नै डीआईजीको दूतको काम गर्ने गरेका छन् ।

सबै जिल्लाका सिभिल टोलीसँग डीआईजीको लागि सई खतिवडाले डिल गर्ने जिम्मा पाएका छन् । सबै जिल्लाको तोकिएको दररेट अनुसार डीआईजीलाई बुझाउने गरेको स्रोत बताउँछ ।

सर्लाही घर भएका खतिवडाले मातहतका जिल्लाबाट डीआईजीको कलेक्सन गर्ने गरेको आरोप छ । डीआईजी चतुर्वेदीका अति निकट खतिवडामार्फत् नै ८ वटा जिल्लाको डिल गर्ने र कलेक्सन हुँदैआएको छ ।

पूर्व असई श्याम साह पनि डीआईजी चतुर्वेदीका विश्वासपात्रका रुपमा चिनिएका छन् । उनले ८ वटै जिल्लाका प्रहरी कार्यालयहरुमा खटाउने घुमुवाको सूची तयार गरी दरभाउ तय गरी डीआईजीमार्फत् सरुवा र पँजनी गर्ने गरेका आरोप छ ।

स्रोतका अनुसार मधेशका जिल्लाका सीमा क्षेत्रबाट ठूलो कारोबार गर्ने व्यापारीहरुलाई समेत साहले डीआईजीसँग भेट्टाउने गरेका छन् । मधेशका जिल्लामा घुमुवा को राख्ने र कसलाई हटाउने जिम्मा नै पाएकाले साहलाई छायाँ डीआईजीको संज्ञा दिने गरिएको छ ।

जागिरका दौरानमा सधैं तराईका पर्सा र रौतहट जस्ता जिल्लामा एसपीका घुमुवा बसी अकूत कमाएका पूर्व असई साहले ताप्लेजुङ सरुवा भएपछि राजीनामा दिएका थिए । पूर्वअसई साहले विवादास्पद बरिष्ठ सई सागर राणासँग मिलेर तराईमा खटाउने घुमुवाको सूची बनाउने गरेका छन् ।

सागर राणा तिनै हुन्, जसका विरुद्ध बीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई सांघातिक आक्रमण गरेकोमा प्रहरीले फौजदारी मुद्दा दर्ताको छ ।

तर राणाले शक्तिको प्रयोग गरी फौजदारी मुद्दालाई देवानी बनाउन सरकारी वकिलमार्फत् महान्यायाधीवक्ता कार्यालयमा फाइल पठाउन लगाएका छन् । तिनै राणालाई धनुषाका डीएसपी बरुण सिंहको सिफारिसमा असार महिनाको उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरिएको छ ।

आगामी भदौ १८ गते वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा, अतिरिक्त महानिरीक्षकद्वय टेकबहादुर तामाङ र सुदिप गिरी अवकाश हुँदैछन् । रिक्त हुने तीन पदमा चार डीआईजी दाबेदार छन् ।

डीआईजीहरु सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक एआईजीका आकांक्षी हुन् । तीन पदमात्र भएकाले एआईजी बढुवा हुने निश्चित भएपछि डीआईजी सिभिल टोली परिचालन गरी कमाउधन्दामा लिप्त भएको आरोप छ ।

सई कुवेर खतिवडालाई लहानको डीएसपी हुँदादेखि सिरहाको एसपी र डीआईजी हुँदा पनि घुमुवा राखी जिल्लाका सिभिल टोलीसँग अतिरिक्त लाभ लिने गरेकोबारेमा डीआईजी चतुर्वेदीले भने–‘मैले घुमुवा राखेको छैन, खतिवडाले त्यस्तो गरेको छैन । मिडियाहरु त्यत्तिकै बदनाम गर्न लागिरहेका छन् ।’

पूर्वअसई श्याम साहले सरुवाको सूची बनाउने र त्यसै अनुसार हुने गरेकोबारेमा उनले भने,'साहसँग मैले भेटेको छैन । कसरी उनले भनेको अनुसार सरुवा गर्नु ?'

अहिले मधेशका अधिकांश भारतसँग सिमा जोडिएका जिल्लाहरुमा व्यापक मात्रामा तस्करी बढेको छ । मधेश प्रदेश अहिले तस्करका लागि स्वर्ग जस्तै बनेको एक प्रहरी अधिकारी बताउँछन् ।

तस्करी र घुस असुली बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कतिपय जिल्लामा स्ट्रिङ अपरेसनका लागि गोप्य रुपमा टोली खटाएको स्रोत बताउँछ । यसअघि आर्थिक विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको थियो ।

उनले खटाएका एक वरिष्ठ सईले घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि उनलाई हटाइएको हो । त्यस्तै केही दिनअघि मात्रै सर्लाहीमा प्रहरीले तस्करसँग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको थियो ।

जसमा इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई वैधनाथ दासले तस्करसँग लेनदेनको विषयमा डिल गरेका थिए । त्यसपछि उनलाई निलम्बन गरिएको छ । यसरी प्रहरीका घुस र तस्करीका घटना बाहिर आउन थालेपछि अख्तियारले निगरानी थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077