काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको बयान सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।
पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्यविरुद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी बयानसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको हो ।
‘ठगी, लिखत कीर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी बयान प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा जाहेरीपत्रमा हस्ताक्षर मात्र गरेको र अन्य व्यहोरा आफ्नो नभएको उल्लेख गरे।
कानुन व्यवसायी अधिवक्ता धर्मराज रेग्मीले जिरह गर्दा पन्थीले टङ्क गुरुङको रेष्टुराँमा पटकपटक मूल प्रतिवादी सानु भण्डारी र केशव दुलालले बोलाएर जाने गरेको तर ती भेटघाटमा पूर्वमन्त्री रायमाझी र उनको स्वकीय सचिव लीला जिसी नरहेको लिखित बयान दिए ।
पन्थीले जाहेरी लेख्दा आफूले ती कुरा उल्लेख नगरेको तथा आफूले एभरेष्ट होटलको चौथो तलामा सानु भण्डारीसँग मात्रै भेटेको, रायमाझीलाई नभेटेको स्पष्ट गरे। अधिवक्ता रेग्मीका अनुसार पूर्वमन्त्री रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा छ।
उक्त प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरी विसं २०८० वैशाख ३१ गते पक्राउ गरेको थियो।