काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति प्रक्रियामा गम्भीर प्रश्न उठेको छ ।
योग्यता अभाव, कानुनी मापदण्डको उल्लंघन र आर्थिक हितको टकरावलगायत गम्भीर आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गभर्नर पौडेलविरुद्ध उजुरी दर्ता भएको छ ।
साउन ४ गते ‘राष्ट्रभक्त नेपाली’ नामबाट दर्ता गरिएको उजुरी (दर्ता नं. सी–००१२७६) मा पौडेललाई विषयगत योग्यता नपुगेका, राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको र बैंक तथा वित्तीय क्षेत्रमा ठूलो निजी लगानी रहेको व्यक्तिलाई बलपूर्वक राष्ट्र बैंकको गभर्नर बनाइएको दाबी गरिएको छ ।
उजुरीमा पौडेलले आफैंलाई “डा.” र “प्राध्यापक” भन्न थालेको भए पनि उनले कुन विश्वविद्यालयको कुन निर्णयबाट ती उपाधि प्राप्त गरे भन्ने विषयमा अस्पष्टता रहेको उल्लेख गरिएको छ ।
पौडेलले ‘रिसोर्स एग्रिकल्चर’मा विद्यावारिधि गरेको उल्लेख भए पनि राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार गभर्नर हुन आर्थिक, बैंकिङ, वित्तीय, व्यवस्थापन वा बाणिज्य कानुनजस्ता क्षेत्रमा स्नातकोत्तर डिग्री हुनुपर्ने कानुनी प्रावधान विपरीत भएको जिकिर छ । पौडेलको स्नातकोत्तर भने सफ्टवेयर इन्जिनियरिङमा रहेको दाबी गरिएको छ ।
उजुरीमा गभर्नर पौडेलको शेयर बजारमा करिब २० करोड रुपैयाँभन्दा बढीको निजी पोर्टफोलियो रहेको उल्लेख गरिएको छ । यो अवस्था वित्तीय प्रणालीको स्वतन्त्र नियमनकर्ता पदमा बसेका व्यक्तिको नैतिकता र निष्पक्षतामा गम्भीर शंका उत्पन्न गराउने आधार भएको उजुरीकर्ताको तर्क छ ।
हालै उनले जारी गरेको मौद्रिक नीतिले शेयर बजारलाई कृत्रिम रूपमा बढाउने प्रयत्न गरेको आरोपसमेत उजुरीमा लगाइएको छ।