कैलाली । कैलालीमा लागूऔषध चरेससहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बैतडी जिल्लाको सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट, २५ वर्षीय महेश बिक र बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का ३९ वर्षीय गगन बोहरा रहेका छन् ।
प्रहरीका अनुसार ऐरी, भट्ट र बिकलाई गोदावरी नगरपालिका–१ भरतपुरमा शंकास्पद रूपमा हिँडिरहेका बेला चेकजाँच गर्दा उनीहरूबाट ४६९ ग्राम चरेस बरामद भएको हो ।
यता, बोहरालाई भने गोदावरी नगरपालिका–२ स्थित विपिन होटेलबाट नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई हाल हिरासतमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
अबैध भरुवा बन्दुकसहित दुई जना पक्राउ, चित्तलका अंग समेत बरामद
यस्तै गोदावरी नगरपालिकामा अबैध भरुवा बन्दुकसहित दुईजना स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ स्याउलेका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी रहेका छन् ।

प्रहरीले राजु चौधरीको घर खानतलासी गर्दा घरभित्र लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुकको नाल, चित्तलको सिङ र चित्तलको खुट्टाको आधा भाग बरामद गरेको हो ।
त्यस्तै, चन्द्रबहादुर चौधरीको घरबाट समेत एक थान भरुवा बन्दुकको नाल फेला परेको प्रहरीले जनाएको छ ।
बरामद सामाग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर थप अनुसन्धान भइरहेको छ।