धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विकले प्रदेशभरिका मातहत इकाइ प्रमुखहरूलाई शून्य सहनशीलताका साथ अपराध नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् ।
शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा आयोजित भौतिक तथा भर्चुअल संयुक्त समिक्षा कार्यक्रममा डीआईजी विकले जिल्लास्तरीय युनिट प्रमुखहरूलाई सो निर्देशन दिएका हुन् ।
उनले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन रणनीतिक दृष्टिकोण अपनाउन आग्रह गरे ।
कार्यक्रममा कैलाली, कञ्चनपुर जिल्लाका इकाइ प्रमुखहरूको भौतिक उपस्थितिसहित प्रदेशका पहाडी सात जिल्लाका प्रमुखहरू भर्चुअल माध्यमबाट सहभागी थिए ।
समिक्षा बैठकमा प्रदेशभित्रको समग्र सुरक्षा अवस्था, लागू औषध समस्या, अवैध तस्करी, सवारी दुर्घटना नियन्त्रण र समाजमा बढ्दो अपराध प्रवृत्तिबारे गहन छलफल गरिएको थियो ।
'शान्ति-सुरक्षा र अपराध अनुसन्धानमा निष्ठा, ईमानदारी र सिर्जनशीलता आवश्यक छ,' डीआईजी विकले भने । उनले सबै प्रहरी कर्मचारीलाई जनउत्तरदायी र अनुशासित भई कार्य गर्न निर्देशन दिए ।
उनले सिमा नाकाबाट हुने अवैध भन्सार चोरी, तस्करी, लागू औषध कारोबार, जुवा, तास र देह व्यापारजस्ता गैरकानुनी गतिविधिमाथि कडाइपूर्वक कारवाही गर्न स्पष्ट निर्देशन दिए ।
त्यस्तै, पेन्डिङ मुद्दाहरूको छिटो अनुसन्धान, फरार प्रतिवादीको खोजी, सामाजिक अपराध नियन्त्रण, नागरिक–प्रहरी सम्बन्ध सुधार, र प्रहरी सेवा नागरिकमैत्री बनाउनुपर्नेमा समेत उहाँले जोड दिए ।
साथै उनले गैरव्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासन रही उच्च मनोवलका साथ कार्य सम्पादन गर्न निर्देशन दिए ।
सूचना संकलन र विश्लेषणलाई अझ सुदृढ बनाउँदै जनमानसमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्नुपर्ने उनले आवश्यकता औंल्याए ।