बुटवल । मालपोत कार्यालय बुटवलमा कार्यरत अधिकृत घनश्याम अर्याल सरकारी छाप दुरुपयोग गरी नक्कली लालपुर्जा वितरण गरेको आरोपमा पक्राउ परेका छन् ।
रुपन्देही प्रहरीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी सञ्जयकुमार केवटलाई समेत शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई बुटवल उपमहानगरपालिका क्षेत्रमै लुकिछिपी नक्कली कागजातहरू तयार पारी वितरण गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध सरकारी छाप तथा दस्तखत दुरुपयोग, किर्ते र ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी गणेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिहरूले नक्कली लालपुर्जा बनाएर सर्वसाधारणलाई वितरण गरेको पुष्टि भएको बताइएको छ । उनीहरूलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान भइरहेको छ ।