कैलाली । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ।
पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन्।
पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख खाद्यान्न धानबाली सुक्न लागेको जनाउँदै किसान हरिलाल चौधरीले चिन्ता व्यक्त गरे।
साउन महिनाको ९ गतेसम्म पनि प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्ण रूपमा सक्रिय हुन सकिरहेको छैन।
मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ।
जलवायु परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेरी देखिने जस्ता समस्या बढ्न थालेको बताइन्छ।
पछिल्लो दुई हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। बढेको गर्मीले दैनिक काम गर्न र हिँड्डुल गर्न असहज बनेपछि जनजीवन कष्टकर बनेको हो।