काठमाडौँ । मधेस प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । लामो समयसम्म वर्षा नभएपछि वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खाने पानीको अभाव सृजना भएको हो ।
वडा नम्बर १९ विन्दवासिनी र २४ राम गडुवामा झन् ठूलो समस्या देखिएको छ। खानेपानी समस्या समाधानका लागि मधेस प्रदेश सरकार, नेपाली सेना, स्थानीय जनप्रतिनिधि र खानेपानी संस्थान मिलेर पानी वितरण गरिरहेका छन्।

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे) पानी वितरण गर्ने गरेको छ।
६ वटा दमकलबाट दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिए।