काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रचण्डको निवास खुमलटारमा भेटवार्ता भएको हो । भेटमा मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिस्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तर्राष्ट्रिय तहमा शक्ति राष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको बताइएको छ ।
दुई पार्टीका अध्यक्षबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा एकताको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ ।