बुटवल । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । आइतबार उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।
योसँगै उनी लुम्बिनी प्रदेशको तेस्रोपटक मन्त्री बनेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ ।
उनी पहिलोपटक २०७८ साउन २७ गते भौतिक पूर्वाधार तथा विकासमन्त्री, दोस्रोपटक २०७९ वैशाखमा आन्तरिक मामिला, कानुन र सहकारीमन्त्री बनेका थिए ।
तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए । उनको शपथग्रहण भोलि दिउँसो ३ बजे हुनेछ ।