कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमै विद्यार्थी संगठनका दुई नेताबीच कुटाकुट भएको छ ।
आइतबार अखिल (क्रान्तिकारी) को बैठकका क्रममा भीमदत्त नगर कमिटी सदस्य भुवन सिंह विष्टले सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् । घटनामा दुवै घाइते भएका छन् ।
गम्भीर घाइते भट्टलाई महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । उनको टाउको र निधारमा चोट लागेको छ । विष्टको नाकमा चोट लागेको छ र उनलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको छ र घटनाको विस्तृत अनुसन्धान जारी छ ।
झगडाको कारण खुल्न नसके पनि अनुशासनहीनता देखिएको भन्दै माओवादी केन्द्र जिल्ला समन्वय समितिले भुवन सिंह विष्टलाई साधारण सदस्यबाट निष्कासन गरेको जनाएको छ ।