पर्सा । वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ।
मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ।
श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औषतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए।
'पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीनपटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ,' उनले भने, 'महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ।'
वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्याङ्करबाट पानी वितरण गर्दै हुँदै आइरहेको छ।