पर्सा । पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र मधेश प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आठवटै जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै एसपी मिश्र नेतृत्वको पर्सा प्रहरीलाई पहिलो स्थानमा राखेको हो ।
मूल्याङ्कनमा पर्सा प्रहरीले ९०.१९ प्रतिशत अंक प्राप्त गरी शीर्ष स्थान हासिल गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनले कार्य सम्पादन सम्झौता कार्यक्रममा उक्त घोषणा गर्दै एसपी मिश्रको सक्रिय र प्रतिबद्ध नेतृत्वको खुलेर प्रशंसा गरे।
पर्सा प्रहरी प्रमुखका रूपमा कार्यभार सम्हालेदेखि नै मिश्रले भन्सार छली, चोरी तस्करी, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण, मानव बेचबिखनजस्ता संवेदनशील मुद्दामा सशक्त अभियान सञ्चालन गर्दै आएका छन्।
पर्सामा एक वर्षमा करिब ६० करोड रुपैयाँ बराबरको भन्सार छली गरिएका मालसामानहरू नियन्त्रणमा लिइएर सम्बन्धित निकायमा बुझाइएको छ ।
यस्तै, अदालतबाट सजाय सुनाइएका १,५११ फरार प्रतिवादीहरूलाई पक्राउ गरी ७३ वर्ष २ महिनाको कैद तथा ३ करोड ५५ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ ।
लागुऔषधविरुद्धको अभियानमा समेत मिश्रको नेतृत्वमा उल्लेखनीय सफलता हात परेको छ। प्रहरीले ३१९ केजी चरेससहित ट्रकसहितको कारोबार नियन्त्रणमा लिएको थियो।
त्यस्तै, हालसम्म ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १.५९ केजी अफिम लगायत लागुऔषधसहित १५३ जना अभियुक्त पक्राउ परेका छन्।
मानव बेचबिखन नियन्त्रणमा पनि पर्सा प्रहरी अग्रपंक्तिमा देखिएको छ । एसपी मिश्रको निर्देशनमा १२ वटा मुद्दा दर्ता गरिँदा १३ जना अभियुक्त पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ।