काठमाडौं । भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक ट्राभल्समा छापा मारेको छ ।
सीआईबीको टोलीले महाराजगञ्जमा रहेको भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको हो ।
सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू लिएको छ ।
सीआईबी स्रोतका अनुसार केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरेर यूएनको कार्यक्रममा भन्दै ट्राभल्स र एनजीओहरूले स्पेनमा मान्छे पठाएर मानव तस्करी भएको आरोप छ ।
संसद्मा समेत यो विषयले प्रवेश पाएपछि एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति बनेको थियो ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले भिजिट भिसामा स्पेन गएकाबारे सीआइबीलाई विवरण बुझाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको स्पेनको कार्यक्रममा केही नेपालीहरू भिजिट भिसामार्फत पुगेको र स्वदेश नफर्किएको विषय संसदमा उठेपछि सिआइबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको ६ सदस्यीय समितिले असार ३१ गतेदेखि छानबिन गरिरहेको छ।
सिआइबीले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सबैको विवरण माग गरेको थियो। कार्यालयले उक्त विवरण बुझाएको छ।
अब स्पेन गएकाहरूमध्ये वास्तविक रूपमा घुम्न गएका, कार्यक्रमका लागि गएका र कार्यक्रमको नाममा गएकाहरूबारे छानबिन हुने सीआईबी स्रोतले बतायो।
सिआइबीले नयाँ दिल्लीस्थित स्पेनको दूताबाससँग उक्त कार्यक्रममा सहभागी हुन गएकाहरू सबैको भिसा विवरण माग गरेको छ।
सिआइबीले लेखेको पत्रमा उक्त कार्यक्रमबारे को–को गए, उनीहरूको भिसा विवरण, कुन संस्था, कुन माध्यमबाट गए, उनीहरूको बस्ने व्यवस्था, आर्थिक पाटो लगायतबारे सोधिएको छ।
स्पेनको उक्त कार्यक्रममा जान भनेर प्रधानमन्त्री नेतृत्वको भ्रमणदल बाहेक एक सय भन्दा बढीले भिसा पाएका थिए। ५५ जनाको टोलीले नक्कली कागजात बनाएको भनेर उड्नेबेलामा जहाजबाट फिर्ता गरिएको थियो।
प्रधानमन्त्री ओली स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भन्दै सरकारसँग जवाफ माग गरेकी थिइन्।
उनले प्रधानमन्त्री ओलीसँगै गएकाहरू नफर्केको आसयमा बोलेको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले को नफर्किएको नाम दिन चुनौति दिएको थियो। तर पछि सांसद गौतमले आफूले प्रधानमन्त्रीसँगै गएका नभई आफूले प्रधानमन्त्री गएको कार्यक्रममा गएर नफर्किएका भनेको भनेर प्रष्टीकरण दिएकी थिइन्।