काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा नयाँ मुख्य अनुसन्धान निर्देशकको खोजी सुरु भएको छ । हालका प्रमुख हुतराज थापाको कार्यकाल करिब एक महिना मात्र बाँकी भएपछि नयाँ प्रमुखका लागि दौडधुप सुरु भएको हो ।
भदौको अन्तिम साता थापाको तीन वर्षे कार्यकाल सकिँदैछ । तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनको बढुवा गरेको थियो ।
त्यतीबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दबाबमा थापा प्रमुख बनेका थिए । प्रचण्ड त्यतीबेला सत्तासाझेदारीमा थिए।प्रचण्ड सत्ताबाट हटेपछि आरजु देउवा निकट व्यक्तिहरुमार्फत थापाले पद जोगाएका थिए । उनको कार्यकाल गुप्तचरमा अनेक बेथिती बढेको स्रोत बताउँछ ।
तीन वर्षअघि थापासँग ओम जोशी प्रमुखको दाबेदारीमा थिए। जोशी देउवा निकट मानिन्थे। अहिले देउवा सत्तामा भएकाले उनी प्रमुख हुने आँकलन गरिएको छ । यद्यपी अर्का एआइजी टेकेन्द्र कार्कीले दौडधुप बढाएका छन् । कार्कीको एमाले नेताहरुसँग निकटता छ ।
नयाँ प्रमुख नियुक्तिको तयारी भइरहँदा दुवैले दौडधुप बढाएका छन्। दुई प्रमुख सत्तारुढ दलबिच सहमतिमा नयाँ प्रमुख नियुक्त हुने सम्भावना छ ।
गुप्तचर प्रमुखको नियुक्तिमा सधैं चलखेल हुने गरेको छ । गुप्तचरमार्फत राजनीतिक सूचना पनि प्राप्त हुने भएकाले प्रमुख नियुक्तिलाई शक्तिसँग जोडेर हेर्ने गरिन्छ ।