काठमाडौं । सिंगो राज्य संयन्त्रलाई हातमा लिएर काम गर्दै आएका बिचौलिया पृष्ठभुमीका व्यापारी दीपक भट्टलाई पछिल्लो समय एकपछि अर्को धक्का लागेको छ।
उनले नियुक्त गरेका व्यक्ति बर्खास्त हुनेदेखि ठूला ठेक्काका काम अनुकुल हुन छाडेका छन्।
भट्टले नियुक्त गरेका राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा छन् । उनको योग्यता नै नपुगी जबर्जस्ती नियुक्त गरेको खुलेपछि मन्त्रिपरिषद्ले नै उनलाई निलम्बन गरी जाँचबुझ आयोग गठन गरेको छ।
सामान्य पत्रकार रहेका ओझा भट्टकै स्वार्थअनुसार पाँच महिनाअघि प्राधिकरणको अध्यक्ष बनेका थिए। यो प्रकरणले सरकार समेत बदनाम बन्न पुगेको छ ।
सिफारिस समितिका व्यक्तिहरुको समेत पद धरापमा पर्ने भएपछि ओझालाई हतार हतार निलम्बन गरेर सरकारले हटाउने प्रक्रिया अघि बढाएको हो ।
विज्ञ प्रतिस्पर्धीहरुलाई पन्छाएर भट्टकै दबाबमा सरकारले ओझालाई नियुक्त गरेको थियो । जुन प्रकरणमा सिफारिस समितिका अध्यक्ष रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारीदेखि अर्थमन्त्री विष्णु पौडेलसम्म नैतिक संकटमा परेका छन् । भट्टको दबाबमा ओझालाई नियुक्त गर्दा सरकार नै बदनाम भएको चर्चा प्रधानमन्त्री निकटले गरेका छन्।
उता हतियार खरिद प्रकरणमा पनि भट्टलाई धक्का लागेको छ। तीन वर्षअघि रद्द भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीमा हतियार खरिदको करिब डेढ अर्बको ठेक्का सेटिङ उच्च तहमा मिलाएका थिए।
नेपाल प्रहरीमा करिब एक अर्ब तथा सशस्त्र प्रहरीमा करिब ५० करोडको हतियार खरिदको प्रयास पनि असफल भएको छ। दुवै प्रहरीले नयाँ प्रक्रियाबाट मात्र हतियार खरिद गर्ने अडान राखेका छन् ।
पुरानो ठेक्का ब्युँताउन उनले सार्वजनिक खरिद नियमावली समेत संशोधन गराई आफु अनुकुल प्रावधान राखेका थिए।
नेपाल प्रहरीमा नयाँ प्रक्रियाबाट हतियार खरिद पनि आफ्नै कम्पनीबाट गर्न उनले चलखेल गरिरहेका छन्। तर, भ्रष्टाचारमा परिने डरले प्रहरी नेतृत्वले पारदर्शी रुपमा प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यसमा पनि भट्ट असफल भएका छन्।
पछिल्लो समय हिमालयन बैंकको संस्थापक शेयर सस्तोमा हात पार्ने उनको खेल पनि असफल भएको छ। पाकिस्तानको हबिब बैंकले आफ्नो २ करोड ८० लाख कित्ता शेयर बिक्री गर्न लागेको थियो । जसमा बैंकले संस्थापक शेयरधनीलाई खरिदका लागि आह्वान गरेको थियो ।
जून शेयर हिमालयन रिइन्स्योरेन्स कम्पनीमार्फत सस्तोमा किन्ने भट्टको योजना थियो । जसमध्ये खरिद गर्ने सम्भावना बोकेको कर्मचारी संचय कोषलाई नकिन्नका लागि उनले सेटिङ मिलाए । तर, अन्य तीन कम्पनीले त्यसमा आवेदन दिएपछि भट्टको योजना असफल भएको छ ।
देशका अधिकांश शक्तिशाली व्यक्ति आफ्नो हातमा छन् भनेर घमण्ड गर्दै हिड्ने भट्टलाई यसरी एकपछि अर्को धक्का लागेको छ ।
अझ पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सको रकम अनैतिक रुपमा आफ्ना परिवारको नाममा गम्भीर घोटाला गरेको गम्भीर विषय पनि बाहिर आएको छ। गम्भीर रुपमा अनुसन्धान भएमा भट्टको सिंगो परिवार नै सम्पत्ति शुद्धीकरणमा पर्ने जोखिम देखिएको छ ।