काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (राजेश अहिराज)ले आफूलाई बलात्कारको जाहेरी दिने जाहेरीकर्ता युवतीविरुद्ध नै मुद्दा दायर गरेका छन् ।
बलात्कारको आरोपमा पक्राउ परेका अहिराजले बुधबार काठमाडौं जिल्ला अदालतमा जाहेरीकर्ता युवतीविरुद्ध नै मुद्दा दायर गरेका हुन् ।
अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको सर्वोच्च अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।
युवतीले धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रुपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी गर्दै अहिराजले मुद्दा दायर गरेका हुन् ।
सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दर्ता भएको अहिराजले दायर गरेको मुद्दामा उल्लेख छ ।
बलात्कार पीडित युवतीले जाहेरी दिएपछि जिल्ला अदालतमा मुद्दा दायर भएको दोस्रो दिन अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दर्ता गराएका हुन् ।
काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै पीडित युवतीले मुद्दा दायर गरेकी थिइन् ।
एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको दायर गरेको मुद्दामा उल्लेख छ ।
तर, आज अहिराजले ती युवतीविरुद्ध नै मुद्दा दायर गरेका हुन् ।