काठमाडौं । आजको युवावर्ग सामान्यभन्दा सामान्य कामको खोजीमा विदेश भौंतारिरहेको छ । यसतर्फ राज्यले गम्भीर भएर सोचेको देखिंदैन ।
अध्यागमन विभागको तथ्यांक हेर्ने हो भने दैनिक दुई हजाराको हाराहारीमा नेपालीहरु काम र मामको खोजीमा विदेशी रहेका छन् ।
गुणस्तरीय शिक्षाको नाममा विदेश जाने अधिकांश विद्यार्थीहरु पनि पढाइसँगसँगै कामकै खोजिमा हुन्छन् । कतिपय कन्सलटेन्सीले त काम मिलाइदिने भन्दै विद्यार्थीहरुलाई तानिरहेको छर्लङ्गै छ ।
गाउँगाउँमा खेतियोग्य जमिनहरु बाँझै छाडेर नेपाली युवाहरु ५० डिग्री भन्दा माथिको घाममा काम गर्न खाडी मुलुक गइरहेका छन् । यो हामी सबैले देखेको र भोगेकै कुरा हो ।
लामो तर्क भन्दा पनि यहाँ अहिले हामीले उठान गर्न खोजेको विषय चाहिं गाउँ–गाउँको बाँझो खेत र विदेश जाने युवाहरुको लर्को नै हो ।
अध्यागमन विभागको तथ्यांक हेर्ने हो भने दैनिक सातदेखि आठ हजार नेपाली विदेश उडिरहेका छन् । जसमा छ हजार पाँच सयसम्म नेपाल फर्किएको रेकर्ड छ । यो तथ्यांकले पनि एक हजार पाँच सय देखि दुई हजारसम्म नेपाली युवाहरु विदेश पलाएन भएको देखिन्छ ।
अध्यागमनको हिजोको मात्रै रेडर्क हेर्ने हो भने आठ हजार भन्दा बढी नेपाली विदेशिएका छन् । तीमध्यै तीन हजार एक सय ६५ जना वैदेशिक रोजगारका लागि बाहिरिएको रेकर्ड छ ।
हो, हामीलाई थाहा छ, गाउँ–गाउँमा खेतीयोग्य जमिन बाँझै छन् तर, युवाहरु विदेश गइरहेका छन् । यहि बेला हामीसामु खेती गर्न छाडेर नेपाली युवाहरु किन विदेशिए ? भन्ने गम्भीर प्रश्न तेर्सीएको छ ।
यो प्रश्नको जवाफ नेपाल सरकारले दिनुपर्ने हो । तर, सरकार सञ्चालनको जिम्मा लिएको दल, दलका नेता, मन्त्री, पूर्वमन्त्रीहरु अझै लाजै पचाएर खेत बाँझै छाडेर किन विदेश गएको ? भन्दै उल्टै प्रश्न गरिरहेका छन् ।
आजकै एउटा विषयलाई उजागर गरौं । आज सरकार हाँकिरहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको तर्क गरे ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत भइसकेका पोखरेलले आज काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताए ।
कार्यक्रममा उनले भने–‘नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा एक किसिमको समस्या उत्पन्न हुन थालेको छ । खासगरी पहाडमा जमिनहरू बाँझै रहने र युवाहरू रोजगारीको लागि विदेशिनुपर्ने जुन प्रकारको अवस्था छ, त्यसलाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्दछ ।’
महासचिव पोखरेलले युवालाई कृषि कर्ममा लगाउनसके धेरैले स्वदेशमै रोजगारी पाउने बताए । नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्नसक्ने बताए ।
उनले भने–‘हाम्रो समाजमा कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन सकिरहेका छैनन् । अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ ।’
कुनैपनि मुलुकलाई समृद्ध बनाउन कृषि महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्दै पोखरेलले भने–‘कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्दछ । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको विकास ति सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक छ ।’
बहुसंख्यक जनसंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न नसके नेपालको आर्थिक विकास चुनौतीपूर्ण बन्ने उनको तर्क छ ।
महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताए ।
पोखरेलले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ भनेर उठाएको आवाजलाई सह्राहनीय मान्नुपर्छ । त्यसैगरी, कृषि क्षेत्रलाई रुपान्तरण गर्न नसके नेपालको आर्थिक विकास चुनौतीपूर्ण बन्छ भन्ने तर्क पनि राम्रो हो ।
यति भन्दै गर्दा पोखरेलले वर्तमान अवस्थालाई भने मुल्यांकन गर्न सकेनन् कि भन्ने आभास पनि पैदा भएको छ । हुनत कार्यक्रममा उनले मधेस प्रदेश सुख्खाग्रस्त बनेको भन्दै सरकारले विभिन्न योजनासहित काम गरिरहेको बताउन भ्याए ।
तर, सरकारले कस्तो काम गरिरहेको छ र किसानले कस्तो राहत पाए भन्ने बारे उनले केही बोलेनन् । जबकी कृषिप्रधान देश भनिएतापनि झण्डै ७० प्रतिशत जमिनमा आकाशे पानीको भर रहेको कृषि मन्त्रालय नै बताउँछ ।
आज साउन १५ वितिसक्दा अन्नभण्डार भनिने पूर्वपश्चिम फैलिएको तराईको अधिकांश भूमि बाँझै छ। एक साता अघिको रेकर्ड हेर्ने हो भने एक तिहाइ जमिनमा मात्र रोपाइँ भएको छ।
हिउँदको लामो खडेरीका कारण गहुँ, मकै दलहन उत्पादनमा उल्लेख्य ह्रास व्यहोरेका किसान मनसुन नहुँदा पिरोलिएका छन्। अधिकांश जिल्लामा चाहिँदो वर्षा भएको छैन। धानको बीउ ब्याडमै सुक्न र फुल्न थालेको छ। खडेरीले झापादेखि कञ्चनपुरसम्मका किसान पिरोलिएका छन्।
रोपाईं गरिएको खेत चिरा चिरा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरबाटै चिरा चिर परेको खेतलको अवलोकन गरिसकेका छन् ।
सरकारले गत विहिबार मधेश प्रदेशमा खडेरीका कारण देखापरेको समस्याको स्थलगत अध्ययन गर्न मन्त्रालय स्तरको प्राविधिक टोली परिचालन गरिसकेको छ ।
खानेपानी, ऊर्जा जलस्रोत तथा सिंचाई र कृषि तथा पशुपंक्षी मन्त्रालका सहसचिव सम्मिलित टोली समस्याग्रस्त प्रदेशमा परिचालन भइसकेको छ ।
टोलिले पेश गरेको प्रतिवेदनको आधारमा राहत प्याकेज बनाउने सरकारको तयारी छ । तर, त्यसका लागि किसानले कति महिना कुर्नुपर्ने हो ? त्यो भने समयले नै बताउला ।
अनुगमनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन्।
प्रधानमन्त्रीले डिप बोरिङ जडान गर्ने भनेर घोषणा गरेको एक सता पुगिसक्यो तर, जडानको सुरसार भने अझै हुन सकेको छैन ।
तर, पानीका स्रोतहरु काम हुँदै गएको अहिलेको अवस्थामा अन्धाधुन्द रुपमा जमिनमुनिबाट डीप बोरिङ गर्दा झन समस्या उत्पन्न हुने भन्दै विज्ञहरुले सचेत गराइरहेका छन् ।
सिंचाइको अभावमा खेती गर्न नसकेकोप्रति चासो देखाउनु पर्नेमा सरकार हाँकिसकेका पूर्वमुख्यमन्त्री जस्तो व्यक्तिले ‘जमिन खाली छ तर युवा काम पाएन भन्दै विदेश जानेक्रम बढ्यो’ भनेर बोल्नु कति उचित होला ।
अझै अर्को उठाउनै पर्ने कुरा रासायनिक मल पनि हो । सिंचाइको अवभावमा खेती गर्न नपाएका किसानहरुले खेती लगाउने बेला न त विऊ पाउँछन न त मल नै नै । र, पनि नेताहरु भने खेत बाँझै छोडेर युवा विदेशिए भन्दै भाषण गर्न लाज मान्दैनन् ।