काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भविष्यमा पेले, मेस्सी, रोनाल्डो तथा एमबाप्पे जस्ता विश्व स्तरीय फुटबल खेलाडी उत्पादन गर्ने देशको रूपमा विकास गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको घोषणा गरेका छन् ।
दशरथ रङ्गशालामा बिहीबार आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको फुटबल भविष्य उज्ज्वल बनाउने योजनासहित पूर्वाधार निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
‘हामीले पेलेदेखि मेस्सी, रोनाल्डो वा एमबाप्पेसम्मको दाँजोमा पुग्न सक्ने, र त्योभन्दा अगाडि बढ्न सक्ने क्षमता राख्ने खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ प्रधानमन्त्री ओलीले उद्घोष गरे।
उनले भक्तपुरमा ५० हजार दर्शक क्षमताको विशाल अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने योजना पनि सार्वजनिक गरे । प्रधानमन्त्रीका अनुसार बलियो पूर्वाधार र विद्यालय स्तरबाट सुरु गरिने अभियानमार्फत खेलकुदको विकासलाई दिगो आधार प्रदान गरिनेछ।
‘फुटबल फर स्कुल’ कार्यक्रमअन्तर्गत देशभरका एक हजारभन्दा बढी विद्यालयमा फुटबल सामग्री वितरण गरिनेछ ।