काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका एक हजार १८० नेपाली कामदारको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ भने हालसम्म ७० शव विभिन्न देशमा अझै अलपत्र अवस्थामा रहेका छन् ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष शव ल्याउने संख्यामा वृद्धि भएको हो ।
उप्रेतीका अनुसार, मृतकका शवलाई परिवारसम्म पु¥याउन एम्बुलेन्सको आवश्यकतालाई मध्यनजर गर्दै बजेट विनियोजन गरिएको छ । साथै, पुराना शव बाहनको सट्टा दुईवटा नयाँ विद्युतीय शववाहन खरिद गर्ने योजना पनि रहेको उनले जानकारी दिए ।
उनले विदेशमा जेल परेकामध्ये अधिकांशमा लागुऔषध र मदिराको कुलत देखिएको उल्लेख गरे। साथै, साउदी अरबजस्ता गन्तव्य मुलुकमा कानुनी प्रक्रिया जटिल भएकाले शव ल्याउन ढिलाइ हुने गरेको पनि जानकारी दिए।
गत आर्थिक वर्षमा बोर्डले एक हजार २५० जना मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग प्रदान गरेको छ। साथै, ६९८ जना अंगभंग वा अस्वस्थ भएका कामदारलाई पनि सहयोग दिइएको छ।
स्वास्थ्य उपचारका लागि २७५ परिवारले सहयोग पाएका छन् भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका ९९० जना सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको छ।