काठमाडौं । राजधानीमा समुह बनाएरआतंक मच्चाउँदै आएका गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) जन्मदिन मनाउँदै गर्दा बिहीबार राति प्रहरीको फन्दामा परे ।
बिहीबार राति महाराजगन्जस्थित साम्बाला होटलमा जन्मदिन मनाइरहेका बेला जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीको नेतृत्वमा विशेष टोली त्यहाँ पुग्यो ।
गुण्डागर्दीविरुद्ध सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।
सोही क्रममा चक्रेसहित सहयोगीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राति नै ठमेल र महाराजगन्ज क्षेत्रका विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न ४७ जनालाई पनि पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरू लामो समयदेखि काठमाडौं उपत्यकामा त्रास फैलाउँदै आएका थिए । चक्रे मिलन यसअघि पनि पटक–पटक आपराधिक आरोपमा पक्राउ परे पनि छुट्दै आएका थिए ।
तर, राजधानीमा पछिल्लो समय बढ्दै गएका धम्की, फिरौती र आपराधिक गतिविधिका कारण प्रहरीले विशेष रणनीतिसहित अपरेसन चलाएको हो ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको एसएसपी अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने उनको भनाई छ । यसअघि बुधबार राति अर्का चर्चित गुन्डानाइके युवराज गुरुङ उर्फ सानुभाइ पनि पक्राउ परेका थिए । सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् ।