काठमाडौँ । अब नेपाल प्रहरीको डोमेन र उप-डोमेनमार्फत प्रदान गरिँदै आएका अनलाइन सेवाहरू एनटीसी (नेपाल टेलिकम) र एनसेल आजियाटा लिमिटेडमार्फत पूर्णतः निःशुल्क रुपमा उपयोग गर्न सकिने भएका छन् ।
नेपाल प्रहरीले नागरिकको पहुँच, सहुलियत र सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको जानकारी दिएको छ ।
यस व्यवस्थाअन्तर्गत अब एनटीसी वा एनसेल प्रयोगकर्ताले शून्य ब्यालेन्समै पनि प्रहरीको आधिकारिक वेबसाइट तथा अन्य उपडोमेनहरूमार्फत उपलब्ध सेवा—जस्तै चरित्र प्रमाणपत्रका लागि आवेदन, गुनासो दर्ता, ट्राफिक जानकारी, हराएका वस्तु वा व्यक्ति सम्बन्धी सूचना, इ-फारम, इ-सिफारिस लगायतका सेवाहरू—सहज रूपमा लिन सक्नेछन्।
नेपाल प्रहरीले यो सुविधा लागू गरेसँगै डिजिटल प्रविधिमा नागरिक पहुँच विस्तार गर्ने दिशातर्फ एक महत्वपूर्ण कदम चालेको छ।