काठमाडौं । गुण्डागर्दीको आरोपमा पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई प्रहरीले मुद्दा चलाउने प्रक्रिया अघि बढाएको छ।
चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनालाई अभद्र व्यवहारको कसुरमा थुनामा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले म्याद लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई सात दिन थुनामा राख्न म्याद दिएको हो ।
बिहीबार बेलुका उनीहरुलाई महाराजगञ्ज क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । चक्रे ठूलो समूह जम्मा गरी सडकमा केक काटेका थिए। साथै, सडकमा दर्जन गाडीले स्कर्टिङ गराएर आतंकित मच्चाएको सूचनापछि साम्बला होटलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यतीबेला पनि उनी जन्मदिन मनाइरहेका थिए। ४७ जनामध्ये २८ जना छुटेका छन् । चक्रेसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम हर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई म्याद थप गरिएको छ ।
उनीहरुमध्ये केही चक्रेका पुराना सहयोगी हुन्। उनीहरु गुण्डागर्दीमा संलग्न रहेको भन्ने आधारमा स्क्रिनिङ गरेर थुनामा राखिएको र अन्यलाई छाडिएको काठमाडौं प्रहरीले जनाएको छ ।