काठमाडौं । नेपाल प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी) दिपक थापाले लागूऔषध नियन्त्रण, रोकथाम र न्यूनीकरणमा नेपाल प्रहरीले योजनाबद्ध र अन्तर्राष्ट्रिय समन्वयमा कार्य गर्दै आएको बताएका छन् ।
शुक्रबार आयोजित एक विशेष कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले “सुरक्षित, स्वस्थ र लागूऔषधमुक्त समाज निर्माण” मा नेपाल प्रहरी सधैं प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।
आईजीपी थापाले देशमा विद्यमान नीति, ऐन तथा कानुनहरूको प्रभावकारी कार्यान्वयनका साथै समाजमा हुने हरेक प्रकारका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । लागूऔषधको दुष्प्रभावबाट युवापुस्ता जोगाउन प्रहरीको सक्रियता अझै तीव्र बनाउनुपर्ने आवश्यकतामा समेत उनले जोड दिए ।
आईजीपी थापाले लागूऔषध नियन्त्रण केवल प्रहरीले मात्रै सम्भव नभएको भन्दै समाजका सबै तह, तप्का र निकायबीच सहकार्य अपरिहार्य रहेको बताए । स्थानीय तह, विद्यालय, परिवार र समाजका सरोकारवाला निकायहरूको सशक्त सहभागिता विना दीर्घकालीन समाधान असम्भव रहेको उल्लेख गर्दै उनले सहकार्यका लागि आह्वान समेत गरे ।
शुक्रबार लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको शुक्रबार निरीक्षण भ्रमण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा गृहमन्त्री रमेश लेखकले पनि लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न एवम् लागूऔषध विरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुबेर खापुङले स्वागत मन्तव्य व्यक्त गरे ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण प्रसाद कोइरालाले ब्यूरोको संरचना, जनशक्ति, स्रोतसाधन, नेपालमा लागूऔषध अपराधको वर्तमान अवस्था, प्रहरीद्वारा गरिएको कारबाही, समस्या तथा चुनौतीहरूबारे विस्तृत विश्लेषणात्मक प्रस्तुति दिएका थिए ।