धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालको हत्या प्रेम सम्बन्धका कारण भएको खुलेको छ ।
शनिबार बिहान बौनिया बजारस्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरको भान्छामा चक्कु प्रहारबाट सेजुवालको हत्या भएको थियो ।
हत्या आरोपमा सोही होटलका कुक, बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउदलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गर्दा प्रेम सम्बन्धपछि विवाद हुँदा हत्या गरेको खुलासा भएको हो ।
प्रहरीका अनुसार सेजुवाल १५ दिनअघि मात्रै वेटरका रूपमा सो होटलमा काम गर्न लागेकी थिइन् । कामकै क्रममा उनी साउदसँग नजिक भइन् ।
दुई सन्तानका बुवा तथा पूर्वपत्नीबाट अलग भइसकेका साउद र सेजुवालबीच छोटो समयमा प्रेम सम्बन्ध बनेको थियो । शनिबार बिहान भान्छामा काम गर्ने क्रममा उनीहरूबीच विवाद भयो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विवादकै क्रममा साउदले नजिकैको चक्कु लिएर सेजुवालको घाँटीमा प्रहार गरेका थिए । कैलाली प्रहरीका डीएसपी राजकुमार सिंहका अनुसार, “दुवै जना भान्छामा मात्र रहेका बेला विवाद भयो। त्यसैबीच साउदले चक्कु प्रहार गर्दा किशोरी घटनास्थलमै ढलिन्। काउन्टरमा रहेका होटल सञ्चालकले त्यसपछि मात्र थाहा पाए ।”
गम्भीर घाइते सेजुवाललाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरे । हत्या
आरोपमा पक्राउ परेका साउदले प्रहरीसमक्ष, “विवाह गर्ने सहमति भइसकेको थियो तर उनी अरु केटासँग पनि फोनमा कुरा गर्थिन्। सोध्दा विवाद भयो र रिसको झोकमा चक्कु प्रहार गरेँ,” भन्ने बयान दिएका छन् ।
हाल साउद इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा छन् भने मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।