काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ फेरि पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौरले उनलाई शनिबार पक्राउ गरेको हो।
गत बुधबार बेलुका ठमेलको नगरकोट दोहारी साँझमा भएको झगडाको घटनामा उनी पक्राउ परेका हुन्।
सो प्रकरणमा यसअघि युवराज गुरुङसहित तीन जना पक्राउ परेका थिए। राजेन्द्र र युवराजको समूहबिच सो दिन झगडा भएको थियो।
प्रहरीले दुवै पक्षलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। लैनचौर वृत्तका डिएसपी जागेश्वर भण्डारीका अनुसार कुटपिटमा संलग्न दुवै पक्षका चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानको क्रममा राजेन्द्र झगडा गर्ने योजना बनाएरै नगरकोट दोहारीमा गएको देखिएको छ।
युवराज र राजेन्द्र दुवै जना ठमेलमा गुण्डागर्दीमा संलग्न रहदै आएका छन्। यसअघि पनि उनीहरु पटक पटक पक्राउ पर्दै आएका छन्।
क्लब ओम्निया चलाउँदै आएका राजेन्द्र र युवराजबिच ठिक दुई वर्षअघि पनि कुटाकुट भएको थियो। त्यसबेला क्बल ओम्निमियामै भएको झगडामा युवराजसहित ६ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरेको थियो ।