Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गुण्डाबिरुद्द प्रहरी आक्रमक : दावा लामाको लागूऔषध मुद्दामा फैसला सुनाउँदै सर्बोच्च

गुण्डाबिरुद्द प्रहरी आक्रमक : दावा लामाको लागूऔषध मुद्दामा फैसला सुनाउँदै सर्बोच्च

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा भनिने जितेन्द्रबहादुर तामाङविरुद्धको लागूऔषध मुद्दामा सर्बोच्च अदालतले सुनुवाई अघि बढाएको छ।

उनको मुद्दामा आइतबार पेशी तोकिएको छ। न्यायाधीशहरू शारङगा सुवेदी र सुनिल पोखरेलको इजलासमा मुद्दा तोकिएको छ ।

लामालाई सात वर्षअघि उच्च अदालतले लागूऔषधको मुद्दामा पाँच वर्ष कैद सुनाएको थियो । त्यसविरुद्ध उनी सर्बोच्च गएकोमा करिब सात वर्षपछि मुद्दाको सुनुवाई हुन लागेको हो। दोषी ठहर भए जेल जानुपर्ने भएकाले लामा हारगुहार गरिरहेका छन् ।

लामासहित तीन जनालाई प्रहरीले २०७१ सालको भदौ २ गते काठमाडौंको जोरपाटीबाट १४.८० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

जसमा जिल्ला अदालत, काठमाडौंले सफाइ दिएपछि सरकारी वकिल कार्यालयले उच्चमा पुनरावेदन गरेको थियो । २०७५ को असोज १५ गते उच्च अदालत, पाटनका न्यायधीशहरू नगेन्द्रकुमार शिवाकोटी र रामप्रसाद अधिकारीको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्टाउँदै लामालाई दोषी ठहर गरी कैद सजाय सुनाएको थियो ।

उच्चको सो फैसलामा भनिएको छ–‘प्रतिवादीमध्येका दावा लामा भन्ने जितेन्द्र तामाङका साथबाट लागुऔषध १४.८० ग्राम बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको र सो कुरालाई प्रतिवेदकले वकपत्र समेत गरेको देखिएको अवस्थामा निज प्रतिवादी दावा लामा भनिने जितेन्द्र तामाङलाई आरोपित गरिएको लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ४ खण्ड घ र च को कसुरमा ऐनको दफा १४(१) बमोजिम सजाय गर्नुपर्नेमा निजलाई अभियोग दाबीबाट सफाई दिने गरी काठमाडौं जिल्ला अदालतबाट भएको २०७२÷०८÷२७ मा भएको फैसला सो हदसम्म मिलेको देखिन नआउँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी दावा लामा भन्ने जितेन्द्र तामाङलाई अभियोग दाबीको कसुरमा लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (१) र ६ (१) बमोजिम पाँच वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर्छ ।’

उनीसँगै पक्राउ परेका प्रबिण खड्का र विरेन्द्रबहादुर कुँवरसँग भने लागूऔषध बरामद नभएको आधारमा सफाइको फैसला भएको थियो । उनीहरुलाई सफाइ दिने फैसलाविरुद्ध पनि महान्यायाधिवक्ता कार्यालय सर्बोच्च पुगेको छ । लगाउमा राखेर मुद्दाको सुनुवाई अघि बढाइएको छ ।

पहिला गुण्डागर्दीमा संलग्न दावा पछिल्लो समय नेपाली कांग्रेसमार्फत राजनीतिमा लागेका छन् ।

राजनीतिमा लागेलगत्तै उनले गाउँपालिका उपाध्यक्षको टिकट समेत हात पारेका थिए र जिते पनि । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी परेपनि राजनीतिक आडकै आधारमा अनुसन्धान रोक्दै आएका छन् ।

पछिल्लो समय गुण्डागर्दीविरुद्ध प्रहरी आक्रमक बनेको छ । विहिबार राती काठमाडौं प्रहरीले गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) सहित उनीसँगै रहेका ४७ जनालाई पक्राउ गरेको थियो ।

चक्रपथस्थित होटल साम्बालामा बर्थडे मनाईरहेका बेला प्रहरीले चक्रे र उनका सहयोगीलाई पक्राउ गरेको हो ।

चक्रेसँग पक्राउ परेकामध्ये २८ जना छुटे पनि बाँकीलाई भने म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

चक्रसहित १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा थप अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077